Dabali News

Ad

टिष्टा र काँकडा गुमाएको २०१ बर्ष पूरा, यसरी जबरजस्त गरिएको थियो सुगौली सन्धि

२१ फागुन

 काठमाडौं । सुगौली सन्धिमा नेपालले हस्ताक्षर गरेको आज २०१ बर्ष पुगेको छ । लडेर नेपाल कब्जा गर्न नसकेपछि अंग्रेजहरुले तत्कालिन इष्ट इन्डिया कम्पनीमार्फत सन् १८१६ मार्च ४ मा जबरजस्त सुगौली सन्धि गरेर नेपालाई अाफ्नो अधिनमा राखेका थिए । अाज दुई शताब्दी पूरा भएको छ ।

यसरी भयो सन्धी 

नेपाल–अँग्रेज युद्ध विरामपछि सन् १८१५ डिसेम्बर २ मा कम्पनी सरकारका तर्फबाट पी. ब्राड शाले नेपालसमक्ष ‘शान्ति तथा मैत्री सन्धि’को प्रस्ताव पेश गरे । प्रस्तावित सन्धिको धारा २ मा नेपालले युद्ध अघिका विवादित क्षेत्र माथिको दाबी त्याग्नुपर्ने, धारा ३ मा नेपालले काली र राप्ती, राप्ती र गण्डक, गण्डक र कुशाहा (कोशी), मेची र टिष्टा नदी बीचको सम्पूर्ण समथल भूभाग तथा मेची पूर्वका पहाडी भाग र नागरी किल्ला सन्धिमा हस्ताक्षर भएको ४० दिन भित्र खाली गर्ने, धारा ४ मा परित्याग गरिएका भूभागका कारण नेपाल राज्यका प्रमुख तथा भारदारहरूले सहनु पर्ने क्षतिको बदलामा कम्पनी सरकारले वार्षिक २ लाख रुपियाँ निवृत्तिभरण दिने, धारा ५ मा नेपालका राजा र उनका उत्तराधिकारीले महाकाली पश्चिमको भूमि र बासिन्दासँगको सम्बन्ध त्याग्ने, सन्धिको धारा ६ मा सिक्किमसँगको विवादमा नेपालले कम्पनी सरकारको निर्णय मान्नुपर्ने, धारा ७ मा कम्पनी सरकारको अनुमति विना यूरोपियन–अमेरिकी नागरिकलाई नेपाल सरकारले आफ्नो सेवामा राख्न नपाउने र धारा ८ मा काठमाडौँमा ब्रिटिश स्थायी प्रतिनिधि राख्नुपर्ने लगायतका प्रावधान थिए ।

तर नेपालले आफूप्रतिकूलको उक्त प्रस्तावित सन्धि ठाडै अस्वीकार गर्यो । ठूलो भूभाग त्याग्नुको सट्टा युद्ध जारी राख्ने निर्णयमा नेपाल पुग्यो । युद्धमा नेपालले चिनियाँ सहयोगको अपेक्षा राखेको थियो । सहयोगका लागि चीनसँग पत्राचार गरेको थियो । तर, ल्हासास्थित चिनियाँ ‘अम्बान’हरूले नेपाल सरकारको अनुरोधलाई केन्द्रसम्म नपुर्याउँदा चिनियाँ सहयोग प्राप्त हुन सकेन । त्यस अघिको युद्धका कारण नेपाल आर्थिकरूपले थलिएको थियो । हातहतियार तथा सेनाको तलब सुविधा जुटाउन मुस्कील थियो । सुदूरपश्चिम मोर्चामा रहेको सेना छिन्नभिन्न अवस्थामा थियो । यही बाध्यतावश नेपाल प्रस्तावित सन्धिका आधारमा वार्ताका लागि तयार भयो । फलतः गजराज मिश्र र चन्द्रशेखर उपाध्याय र कर्नल ब्राड शाले ‘सुगौली’मा आ–आफ्नो देशको प्रतिनिधित्व गर्दै सन्धिमा हस्ताक्षर गरे । सन्धि १५ दिनभित्र अनुमोदन गराउने बाचासहित गजराज मिश्र काठमाडौँ फर्के । सन्धिप्रति नेपालले फेरि असहमति जनायो । सन्धि अनुमोदनका लागि छुट्याइएको १५ दिन जानाजान गुजार्यो । सोही निहुँमा जनरल अक्टरलोनीले फेरि युद्धको धम्की दिए । नेपालले अक्टरलोनीको धम्कीको बेवास्ता गर्यो । त्यसपछि सन् १८१६ फेब्रुअरीमा २० हजार सेनालाई चार भागमा बाँड्दै अक्टरलोनी आफैँ काठमाडौँ हान्न भिच्छाखोरी (हाल अमलेखगञ्ज) आइपुगे । सन् १८१६ फेबु्रअरी २७ मा अँग्रेज सेना मकवानपुरगढीनजीक पुग्यो । त्यहाँ शमशेर राना नेतृत्वको नेपाली सेना र अँग्रेज सेनाबीच भीषण लडाइँ भयो । लडाइँमा ८ सय नेपाली सैनिकले वीरगति प्राप्त गरे । २ सय २२ अँग्रेज सेना मारिए । १८१६ फेबु्रअरी २९ मा हरिहरपुरमा युद्ध भयो । अँग्रेज सेना त्यहाँबाट अझै काठमाडौँतिर अघि बढिरहेको खबर पाएपछि नेपाल सरकार अँग्रेजद्वारा लादिएको सन्धि मान्न बाध्य भयो ।

नेपाल सरकारले वार्ताका लागि प्रतिनिधिलाई पठाउने निर्णय गर्यो । १८१६ मार्च ४ का दिन गजराज मिश्र र चन्द्रशेखर उपाध्याय दिउँसो २ः३० बजे मकवानपुर पुगी कम्पनी सरकारका प्रतिनिधिलाई हस्ताक्षरित सन्धि बुझाए । दुबै पक्षबीच सन्धि आदान–प्रदान भयो । त्यसपछि कम्पनी सरकारले कुमाऊँका कमिश्नर एडवर्ड गार्डनरलाई नेपालका लागि आवासीय प्रतिनिधिका रूपमा नियुक्त ग¥यो । तर, गार्डनरको आवागमनमा ढिलाइ हुँदा गार्डनरको ठाउँमा जे.पी. बायलुलाई पठायो । बायलुले १७ अप्रिल १८१६ मा ओहदाको प्रमाणपत्र बुझाए । तीन महिना पछि बायलुको ठाउँमा गार्डनर आवासीय प्रतिनिधिकारूपमा नेपाल आए ।

सन् १८१६ मार्च ४ मा कम्पनी सरकारलाई बुझाइएको सन्धिमा राजाको लालमोहर थिएन । सन्धिप्रति नेपालको असन्तुष्टि कायमै थियो । सन्धिप्रति नेपालको असन्तुष्टिलाई कम्पनी सरकारले राम्ररी महसूस गरेको थियो । नेपालको असन्तुष्टिले भविष्यमा युद्ध निम्तिने खतरादेखि कम्पनी सरकारले १८१६ डिसेम्बर ८ मा सुगौली सन्धिमा पुनरावलोकन गरी कोशीदेखि राप्ती नदीबीचको समथर भूभाग नेपाललाई फिर्ता गर्यो । सन्धिलाई नेपाल सरकारले १८१६ डिसेम्बर ११ का दिन अनुमोदन गर्यो । कम्पनी सरकारले राप्तीदेखि कालीबीचको समथर भूभाग भने सन् १८६० पछि मात्रै फर्कायो ।

सुगौली सन्धि इष्ट–इण्डिया कम्पनीद्वारा नेपालमाथि जबर्जस्ती थोपरिएको थियो । सुगौली सन्धि पूर्व नेपालको पश्चिमी सीमा काँगडासम्म पुग्दा कूल क्षेत्रफल ३,६७५७५ वर्ग कि.मि. थियो । संसार चन्द र रणजीत सिंहको फौजसँग नेपाली पक्ष विजयी हुन नसक्दा नेपालको सीमा सतलज कायम थियो । नेपालको तत्कालीन क्षेत्रफल २,०४,९१७ वर्ग कि.मि. थियो । सुगौली सन्धिले नेपाललाई मेची र महाकालीबीचको १,४७,१८१ वर्ग कि.मि. क्षेत्रफलमा खुम्च्यायो । यूरोपेली तथा अमेरिकी नागरिकलाई सेवामा राख्दा कम्पनी सरकारको अनुमति लिनुपर्ने र सिक्किमसँगको विवादमा कम्पनी सरकारको मध्यस्थता चाहिने जस्ता प्रावधानका कारण सन्धिले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि गम्भीर प्रश्न उब्जाएको थियो ।

सन्धिले कम्पनी सरकारका स्थायी प्रतिनिधिलाई नेपालमा बस्ने छूट दियो । कम्पनी सरकारका आवासीय प्रतिनिधिले काठमाडौँमा अड्डा जमाएसँगै आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेप तथा दरबारिया षडयन्त्र र भारदारहरूबीच शक्ति सङ्घर्ष शुरु भयो । सुगौली सन्धिमा सघाएबापत चन्द्रशेखर उपाध्याय र गजराज मिश्रले कलकत्ता, काशी र काँगडामा थुप्रै चल–अचल सम्पत्ति हात पारे । तर, देश र जनताले ठूलो भूभाग गुमाउनु पर्यो ।

  • रतन भण्डारीको अतिक्रमणको चपेटामा लिम्पयाधुरा-लुपुलेक पुस्तकबाट

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]