Dabali News

उपराष्ट्रपति पासाङले डीएसपी ठुले राईलाई यसरी कब्जा गरेका थिए

१ फागुन

मितिः २०५६ साल आश्विन ५ गते साँझ ।
स्थानः रुकुम जिल्लाको महत गाविसस्थित हाइस्कुलको छात्रावास भवनमा राखिएको इलाका प्रहरी कार्यालयको दंगा (कमाण्डो) बेस–क्याम्प ।
समयः साँझ ९ बजे । वर्षायाम । सिमसिमे पानी परिरहेको अवस्था ।

योजना

पार्टी केन्द्रीय समितिको बैठकले निर्णय गरेबमोजिम पश्चिममा १, २ र ३ नं. प्लाटुन गठन गरियो । देशभरि चलाइएको ‘किलो शेरा टु’ दमन अभियानको प्रतिरोधस्वरूप देशव्यापी धक्कामूलक कारबाही सञ्चालन गर्ने योजनाहरू बने । त्यसैअनुरूप १ नं. प्लाटुन (रोल्पा) र २ नं. प्लाटुन (रुकुम) र केही स्क्वायडहरू केन्द्रीत गरि पश्चिमाञ्चल विशेष उपक्षेत्र अन्तर्गत रुकुममा रेड गर्ने र ३ नं. प्लाटुनले जाजरकोट जगतिपुरमा सेबोटेजमूलक रेड गर्ने क्षेत्रले निर्णय ग¥यो । यसरी धक्कामूलक फौजी कारबाहीको योजना तयार भयो ।

रक्की तथा तयारी

पार्टीको योजनाअनुरूप सर्वे तथा रक्की टोलीको निर्माण भयो । प्रहरीको सम्पूर्ण अवस्थाबारे अध्ययन गर्न रक्की टोली आफ्नो काममा तदारुकताका साथ खट्यो । यस क्रममा रक्की टोलीले रोल्पाको पाखापानी, रुकुमको काँक्री र महत गरी तीनवटा प्रहरी पोष्ट तथा क्याम्पको अध्ययन गर्यो । त्यसमध्ये महतस्थित प्रहरी बेसक्याम्प डिएसपीको कमाण्डमा रहेको थियो । बाँकी क्याम्पहरू इन्सपेक्टरको कमाण्डमा रहेका थिए । दुश्मनको क्रुर ‘किलो शेरा टु’ अप्रेसनको काउन्टर गर्न पार्टीद्वारा फौजी कारबाहीको योजना तय गरिएको थियो । उक्त क्याम्पमाथिको फौजी धक्काले निश्चित रूपमा योजनाको मर्म र उचाइलाई पकड्न सक्थ्यो । त्यहाँको भौगोलिक स्थिति पनि हाम्रो अनुकुल थियो । त्यसकारण महतको प्रहरी पोष्टलाई आक्रमणको प्वाइन्त्ट छनौट गरियो ।

रात र दिउँसो गरी सम्पूर्ण वस्तुगत तथा भौगोलिक अवस्थाको अध्ययन कार्य पूरा भयो । आन्तरिक रिपोर्टका लागि स्थानीय पार्टीलाई परिचालन गरियो । सोहीअनुसारको क्याम्पिङ तयार गरी अन्य प्राविधिक तयारी आवश्यक युद्ध–सामग्री, ग्रेनेड, माइन, एफजी, टिएमजी बम र रस्सी तथा अन्य व्यवस्थापनको सम्पूर्ण सामान तयारी गरियो ।

भौगोलिक बनावट

रुकुमको महतको महत गाउँमा उक्त प्रहरी बेस क्याम्प रहेको थियो । क्याम्प रहेको डाँडा पूर्वतिरबाट पश्चिमतिर झरेको थियो । त्यसको दायाँ–बायाँ साइडतिर दुईवटा खोला थिए । पश्चिमतिर घटना बस्ती छ । त्यसको तलतिर मकैबारीहरू थिए । उत्तरतिर मकैवारी हुँदै तल खोलातिर ओरालो झरेको बाटो ।

दक्षिणतिर पनि ५÷६ वटा घरहरू थिए । त्यहाँ क्याम्पको ठीक तल थबाङ हुँदै आएको थबाङखोला थियो । पूर्वी भागमा एउटा ठूलो हाइ स्कुल थियो । त्यो भागमा केही घरहरू थिए । अलि माथि नाङ्गो डाँडा । त्यसपछि ठूलो जंगल, पश्चिमतिर एउटा बाटो र सानो बजार थियो । त्यहाँ हेल्थ पोष्ट थियो । त्यसको नजिकै ठूलो गाउँ थियो । त्यहाँबाट अलि तल दोमै बजार पर्छ । चारैतिरबाट नजिकै जान सकिने भौगोलिक धरातल थियो ।

क्याम्पको बनावट
प्रहरी महतको हाइ स्कुलको छात्राबास भवन जबर्जस्ती कब्जा गरेर बसेको छ । छात्रावास भवन ढुङ्गाले छाएको छ । घर ठूलो भएपनि एक तले मात्र थियो । घरभित्र गल्ली थियो । त्यो गल्लीबाट दायाँ–बायाँ कोठामा पस्ने ढोकाहरू । उक्त छात्रावासमा जम्माजम्मी १० ओटा कोठा थिए । पूर्व–पश्चिम मोहडा भएको घरको उत्तर र दक्षिण साइडमा पूरै झ्याल थिए । पूर्व र पश्चिमबाट १÷१ वटा ढोकाको निकास थियो ।

पश्चिमतिर त्यसको नजिकै हेल्थ पोष्ट भवन र पर्खाल लगाइएको एउटा घर थियो । त्यसमा मेस सञ्चालन गरिन्थ्यो । घरको चारैतिर बंकर बनाइएको थियो । पश्चिममा २ वटा बंकर तथा सेन्ट्री पोष्ट थिए । पूर्वी साइडमा २ वटा बंकर तथा सेन्ट्री पोष्ट बनाइएको थियो । बाटोको साइडमा बाँसको बार लगाइएको थियो । पूर्वी र दक्षिण साइडमा गाह्रो लगाएर फायरिङ कभर र प्वाल बनाइएको थियो ।

पूर्वी र पश्चिमी दिशातिरको बाटोमा प्रहरी राति एम्बुस बस्ने र बाटोमा गस्ती गर्ने गथ्र्यो । यो उसको दैनिक कार्य थियो । त्यहाँबाट २ घण्टाको दुरीमा थबाङ । थबाङमा पनि प्रहरीको बेसक्याम्प थियो । सोही दुरीमा रुकुमकोटमा एउटा इलाका प्रहरी क्याम्प थियो । त्यस्तै साढे १ घण्टाको दुरीमा काँक्रीमा ठूलो बेस–क्याम्प थियो ।

प्रहरीको संख्या तथा हातहतियार

उक्त प्रहरी बेस–क्याम्पमा डीएसपी ठूलो राईको कमाण्डमा २७ जना दंगा प्रहरी फोर्स थियो । सबै सशस्त्र थिए ।

हाम्रो संख्या तथा हातहतियार
हाम्रो १ नं. र २ नं. प्लाटुन थियो । त्यस्तै रोल्पा, रुकुम र सल्यानको सेलेक्टेड स्क्वायड फोर्स र स्वयंसेवक गरी जम्मा सहभागी संख्या १६६ जनाको थियो । हतियार ६ थान, थ्रिनटथ्रि राइफल, १ थान बाह्रबोर, भरुवा, ग्रेनेड, माइन आदि ।

उद्देश्य तथा लक्ष्य
उनीहरूको बेसक्याम्प ध्वस्त बनाउने, डीएसपी ठुले राईलाई कब्जा गरेर ल्याउने,सम्पूर्ण हातहतियार कब्जा गर्ने, आत्मसमर्पण गरेकालाई राजनीतिक कक्षा दिएर छाड्ने, फटाहा र सुराकीको सफाया गर्ने, भिडन्तमा मरेकाबाहेक अरू कसैलाई नमार्ने र घाइते दुश्मनलाई उपचार गरेर छाड्ने कामलाई पार्टीको मुख्य उद्देश्य बनाएको थियो ।

कारबाहीका लागि शक्ति–विन्यास

दुश्मनको सुरक्षात्मक व्यवस्था र भौगोलिक अवस्थालाई मध्यनजर गरेर निम्नअनुसारको शक्तिविन्यास तथा गु्रप विभाजन गरिएको थियोः

  • एसल्टमा गु्रप १६ वटा– १६×४=६४ जनाको ।
  • मुख्य कमाण्डो गु्रप २ वटा– २×४= ८ जनाको ।
  • माइन ग्रुप २ वटा– २×४=८ जनाको
  • रिजर्भ गु्रप २ वटा– २×६= १२ जनाको
  • एचपी तथा एचक्यु गु्रप २ वटा– २×६= १२ जनाको ।
  • स्टप गु्रप ५ वटा– ५×४= २० जनाको
    यसरी कुल सहभागी संख्या १६६ जनाको थियो, जसमा १४ जना महिला हुनुहुन्थ्यो ।
  • बाँकी फोर्स थबाङ र रुकुमकोटको दु्श्मनलाई ‘फल्स’ गर्न गएको थियो । त्यसमा गु्रप २ वटा ७×२= १४ जनाको सहभागिता थियो र एम्बुस गु्रप २ वटा– २×७= १४ जनाको टिम थियो ।

वारिपारिका जनताबाट अरू बाँकी कामको रूपमा नारा लगाउन र मशाल जुलुस प्रदर्शन गर्ने व्यवस्था मिलाइएको थियो ।

कोचिङ सम्पूर्ण कारबाहीको योजनाअनुसार एसल्ट गु्रप र अन्य गु्रप गरी २ चरणमा कोचिङ सम्पन्न गरियो । नक्सामाथि कोचिङ गरियो । कोचिङमा धक्काको आवश्यकता र महत्व, राजनीतिक र फौजी धक्काको आवश्यकता, दुश्मनको ‘किलो शेरा टु’ दमन अभियानको प्रतिरोधस्वरूप गर्न लागिएको आक्रमणको महत्व, ब्याटलमा प्रयोग गरिने रणकला, त्यसको सैद्धान्तिक र व्यवहारिक पक्ष, प्रत्येक गु्रपको ठोसठोस जिम्मेवारी र भूमिका, सरप्राइज कला तथा कोठा खाली गर्ने तरिका, अफेन्स–डिफेन्स, ब्याटल कोड र मार्चिङ तथा फर्मिङ प्वाइन्ट, स्टार्टिङ ल्यानसम्म पुग्ने आदि सबै कुराबारे ठोसठोस कोचिङ भयो । रिट्रिट तथा आरभिमा फिर्ता हुँदा अपनाइने सुरक्षात्मक कारबाहीबारे पनि कोचिङ भयो ।

मुभ तथा मार्च

कोचिङ सकिएपछि हतियार तथा युद्ध–सामग्री सबै बाँडफाँट गर्यौं । सबै कुरा मिलाएर सम्पूर्ण टिमले खाना खाए । साँझको ५ बज्यो । सबै टोली अन्तिम सेल्टरबाट जंगलैजंगलको बाटो हिँडे । अन्तिम सेल्टरबाट दुश्मन भएको ठाउँ पुग्न ३ घण्टा लाग्दथ्यो ।

करिब २ घण्टा हिँडेपछि जंगलमै एकछिन रोककाल गरियो । रोलकालमा कमाण्डर र कमिसारको तर्फबाट अन्तिम आदेशस्वरूप सम्बोधन गरियो । सम्पूर्ण टोली उत्साहपूर्वक अनुशासित र शान्त भावका साथ अगडाडि बढे ।

फर्मिङ प्वाइन्टबाट गु्रप दुई भागमा विभाजित भो । दुई साइड (दायाँ र बायाँ तथा उत्तर र दक्षिण) बाट घेरा हाल्नुपर्ने भएकोले सोहीअनुसार गुप्र विभाजन भयो । क्याम्प नजिक पुग्नै लाग्दा सिमसिम वर्षाको सुरुआत भयो । त्यसले गर्दा नजिक जान धेरै मद्दत ग¥यो । नजिकै पुग्दासमेत पनि उनीहरूले केही थाहा पाएनन् । बाहिर सेन्ट्री बसेकाहरू ‘हिम्मत छ भने आइज माओवादी’ भन्दै कराइरहेका थिए । हामीले केही समयपछि उनीहरूमाथि आक्रमण गर्दैछौं भन्ने कुरा उनीहरूलाई थाहा नभएर नै होला धम्की दिएको विचराहरुले । उनीहरू सदाझै आफ्नै तालमा बेसुरमा हामीलाई गाली गर्दै कराइरहेका थिए ।

कार्यान्वयन तथा कारबाहीः

सिमसिम पानी परिरहेको थियो । हाम्रा सबै गु्रप स्टार्टिङ लाइनमा पुगिसकेका थिए । उनीहरूलाई हामीहरू आइपुगेको पटक्कै थाहा थिएन । उनीहरू आफ्नै तालमा ‘ल माओवादी आ’ भन्दै कराउँदै थिए । सुरुमा पश्चिम–दक्षिण साइडको बंकरको सेन्ट्रीलाई ढाल्ने योजना थियो । योजनाअनुसार निर्धारित समयमा फायर खोलियो । उनीहरू मध्ये कोही बल्ल खाना खान बसेका रहेछन् । चारैतिरबाट जोडदार फायर खोलियो ।

फायर खोलिएपछि उनीहरूमध्ये कोही ठूलो घरभित्र र कोही भान्साकोठाभित्र पसे । कसैले बंकरबाटै प्रतिरोध गर्ने दुश्साहस गरिरहे । कमरेडहरूले तीव्र गतिमा अफेन्स गर्नुभयो । उहाँहरूले बंकरमा रहेका प्रहरीलाई बंकरमै घोचेर ढाल्नु थाल्नुभयो । आधा घण्टाभित्र बाहिरका सबै बंकरहरु कब्जा भए । तर, केही प्रहरीहरू भित्रबाटै लड्न थाले । खाना खान मेस र हेल्थ पोष्टमा भएका प्रहरीहरूले आत्मसमर्पण गर्न सुरु गरे । अब भित्रका प्रहरीहरू मात्रै बाँकी रहे ।

मुख्य पोष्टमा झ्याल फोर्दै भित्र ग्रेनेड र आगो लगाउन सुरु गरियो । आगो लगाउन थालेपछि क्रमशः अरूले पनि आत्मसमर्पण गर्न थाले । तर, डीएसपी ठुलेले अन्तिम समयसम्म पनि आत्मसमर्पण गरेन । अन्तिममा उसकै पुलिसलाई ल्याउन पठाइयो । ‘हामी मार्दैनौं, हात उठाएर बाहिर आउनुस्’ भनेपछि उसलाई उसकै पुलिसले मसातेर ल्यायो । ऊ दुवै हातमाथि उठाएर बाहिर आयो ।

करिब डेढ घण्टाको अवधिभित्र सबै कब्जा भयो । सबै कोठा सर्च गरिसकेपछि घाइते पुलिसलाई औषधि उपचार गरियो । बाँकी प्रहरीलाई एउटा कोठामा जम्मा गरी राजनीतिक प्रशिक्षण दिएर जेनेभा सन्धिअनुसार छाडियो । डीएसपी ठूले राईलाई युद्धबन्दीको रूपमा गिरफ्तार गरी सम्मानपूर्वक साथैमा लगियो । उनीहरूसँग बस्ने स्थानीय कुख्यात फटाहा तथा सुराकीहरूलाई भने सफाया गरियो ।

मूल्याङ्कन 
जनयुद्ध थालनी भएदेखि त्यतिबेलासम्मको उपलब्धिमा यो एउटा ऐतिहासिक कारबाही थियो, जहाँ विना क्षति शानदार विजय हासिल भयो । त्यो फौजी कारबाहीले राज्यसत्तालाई ठूलै धक्का दिन सफल भयो । यस कारबाहीले ‘किलो शेरा टु’ अभियानको राम्रो प्रतिरोध गर्यो । यसले गर्दा सो अभियान पूर्णतः असफल भयो । त्यस अभियानलाई कारबाहीबाटै नाकाम बनाइएको पनि मूल्याङ्कन निष्कर्ष निक्लियो ।

प्रतिक्रियावादीहरूको कित्तामा ठूलो खैलाबैला मच्चाउने काममा यो कारबाहीले ठूलो भूमिका खेल्यो । यसले गर्दा उनीहरूको अन्तरविरोध नयाँ ढंगले उत्पन्न हुने स्थिति देखाप¥यो । हाम्रो पार्टीभित्रको अन्तरसङ्घर्ष हल गर्नका लागि पनि यो कारबाहीले ठूलो भूमिका खेल्यो । फौजी रूपमा पनि यसले नयाँ ढोका खोल्ने काम ग¥यो । यसमा प्राविधिक रूपमा पनि ठूलो उपलब्धि हासिल भयो । सर्वे र प्वाइन्ट छनौट वस्तुनिष्ठ रहेको र योजना बुद्धिमत्तापूर्वक बनेको निष्कर्ष मूल्याङ्कनबाट निस्कियो । यसबाट जनतामा नयाँ ढंगको उत्साहको लहर पैदा गर्ने काम भयो । स्थानीय सत्ता खाली हुन सुरु भएको निष्कर्ष पनि निस्कियो ।

कमीकमजोरी

ठूला गम्भीर खालका कमजोरीहरू नरहेतापनि केही सानातिना कमजोरी अवश्य रहन गए । तिनलाई निम्न प्रकारले देखाउन सकिन्छः

  • सेट तथा सिक्वेन्समा फाइट हुन नसक्नु ।
  • झ्यालढोकामा प्रभावशाली फायर गरी प्रहरीहरू दबाउन नसक्नु, जसका कारण २ जना कमरेडहरू घाइते हुनु ।
  • सर्च प्रक्रिया राम्रोसँग गर्न नसक्नु, जसका कारण केही हतियार छुट्नु ।
  • सर्च कार्यमा भद्रगोलपन आउनु, कब्जापछि साथीहरू अनुशासनमा नबस्नु, सुरक्षालाई ख्याल नगर्नु ।
  • शंकास्पद घर तथा ठाउँहरू सर्च नगर्नु, जसका कारण मुख्य सुराकी बच्नु ।
  • सूचना–सञ्चारको तालमेल तथा कोअर्डिनेसन हुन नसक्नु ।

सरकारी प्रचारबाजी

रेडियो नेपालको समाचारमा भनियो, ‘गए राति करिब ६ हजारको संख्यामा आएका आतंककारी समूहले रुकुम जिल्लाको महतस्थित जनताको सुरक्षार्थ रहेको इलाका प्रहरी चौकीमाथि कायरतापूर्वक आक्रमण गरी ६ जना प्रहरी जवान र १ जना सर्वसाधाण नागरिकको निर्ममतापूर्वक हत्या गरेका छन् । आतंककारीहरूले डिएसपी ठूले राईलाई बेपत्ता परेका छन् । सुरक्षाकर्मीको गोलीबाट सयौंको संख्यामा आतंककारीको हताहत भएको छ ।’

त्यस्तै बीबीसीले फुक्यो, ‘हजारौंको संख्यामा आएका माओवादी विद्रोहीहरूले रुकुम जिल्लाको महतस्थित प्रहरी चौकीमाथि आक्रमण गरी चौकीमा रहेका सम्पूर्ण हातहतियार लुटेर लगेका छन् । भिडन्तमा ९ जना प्रहरीको मृत्यु भएको छ भने डीएसपी ठुले राईलाई गिरफ्तार गरेर माओवादीहरूले लगेका छन् । विद्रोहीतर्फ के कति क्षति भयो, त्यसको कुनै पुष्टि हुन सकेको छैन । उनीहरूको खोजी कार्यका लागि ठूलो मात्रामा सुरक्ष संयन्त्रलाई परिचालन गरिएको सरकारी सुरक्षा अधिकारीहरूले बताएका छन् । केही दिनमा नै डीएसपी ठूले राईलाई मुक्त गराउन सकिने कुरा रक्षा मन्त्रालयले बताएको छ ।’

अन्य पत्रपत्रिका तथा सरकारपक्षीय मिडियाले घुसपैठियाका कारण प्रहरीहरूले हतियार बुझाइदिए भनेर ठूले राईलाई आरोप पनि लगाए । ती पत्रपत्रिकाहरूले ठूले राई माओवादीको मान्छे हो भनेर किटानी गर्ने निचता समेत पनि प्रदर्शन गरे ।

  • इतिहासका रक्तिम पाइलाबाट
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]