Dabali News

Ad

जनयुद्धका बाल कलाकार पर्वत विश्वकर्मा सांगीतिक क्षेत्रमा चर्चा बटुल्दै

१९ माघ

काठमाडौँ ।

कलाकार पर्वत विश्वकर्मा जनयुद्धका बाल कलाकार हुन् । अछामको भटाकाटिया–७ पुदुमा जन्मेका पर्वत २०५७ कात्तिक २८ गते जनयुद्धमा पूर्णकालिन भएका थिए । त्यतिबेला उनको उमेर मात्र ११ बर्ष थियो । तत्कालिन नेकपा (माओवादी) अछाम जिल्लाको रामारोशन साँस्कृतिक परिवारबाट पर्वतको सांगीतिक यात्राको औपचारिक सुरुवात भयो ।

छापामार रुपमा पर्वतले अछामका गाउँ बस्तीहरुमा नृत्य, गायन, संगीतको माध्यमबाट जनतालाई आफ्नो अधिकारको लागि उठ्न, जुट्न र गीत संगीतको माध्यमबाट जनयुद्धबारे जनतालाई जानकारी गराउँदै हिडे । ‘स्कूलमा कक्षा पाँचमा पढ्दै गर्दा मलाई माओवादीका साँस्कृतिक गतिविधिले प्रभावित बनायो, अनि म स्कूल छोडेर जनयुद्धमा हिडेँ’ पर्वतले अनलाइन डबलीसँग भने ।

सुरुका दिनमा आफूले राजनीति नबुझेको तर माओवादी कलाकारहरुले गाउँ–गाउँमा जनताबीच दिएका सन्देश र कार्यक्रमबाट प्रभावित भएर जनयुद्धमा लागेको पर्वतले बताए । ‘उमेर सानै भएकाले त्यतिबेला राजनीतिबारे खासै ठूलो बुझाइ थिएन, जनयुद्धमा लागेपछि धेरै कुरा बुझेँ’ उनले भने । उमेरको परिपक्क हुँदै गर्दा आफूपनि राजनीतिप्रति प्रतिवद्ध भएको उनले बताए ।

२०५८ सालमा ‘अग्रगामी छलाङ’ अभियानको क्रममा हुम्ला, मुगु, बाजुरामा पुगेर नृत्य, गीत र संगीतको माध्यमबाट गाउँ-बस्तीमा जनयुद्धको सन्देश पुर्याएका थिए ।

बाल्यकालमा जनयुद्धका लागेका पर्वतको उमेर बढ्दै जाँदा साँस्कृतिक जिम्मेवारी पनि बढ्यो । उनले ‘जाउँ हिड साथी सागरमाथा शिखर जनयुद्धको लाग्यो लहर, तोडौँ जन्जिर हातको फ्याक्कौँ कानून फासिवादको, जीत हुन्छ अब माओवादलगायत दुई दर्जन गीत जनयुद्धका बेला पश्चिम नेपालका गाउँ बस्तीमा निकै गाइन्थे ।

सेती-महाकालीको क्षत्रिय साँस्कृतिक परिवार ‘विशु साँस्कृतिक कम्पनी’को ३ नम्बर प्लाटुनको कमाण्डर भएर जनकलाकारहरुको नेतृत्व गरेका पर्वत जनयुद्धकालिन समयलाई सम्झदै भन्छन्,-‘ति दिन हिजो अस्ती जस्तै लाग्छन्, कति अप्ठ्यारो थियो, गाउँमा गएर जनयुद्धका गीत गाउँन, धेरै संगीहरु गुमाइयो । त्यतिबेलाका कुरा गर्यो भने अहिले सुन्नेहरुले विश्वास नै गर्दैनन् ।’

‘अग्रगामी रुपान्तरण’ अभियानको क्रममा पर्वतले जनयुद्धकै क्रममा भेरी-कर्णालीका सबै जिल्ला, गण्डकका गाउँ बस्तीमा पुगेर जनतलाई अधिकारको लागि उठ्न र जुट्न आग्रह गरेका थिए । पर्वतका धेरै सहकार्मीहरु सहिद भए । ‘धेरै साथीहरुलाई गुमाइयो, अहिले पनि त्यो पीडाले छोडेको छैन’ उनी भन्छन् ।

१९ दिने जनआन्दोलनको बेला जिम्मेवारी पाएर काठमाडौँ छिरेका पर्वतले कलंकी क्षेत्रमा गीत, संगीत, नृत्यसँगै नाराबाजी गर्दै अगाडि बढिरहेका थिए । सेती–महाकालीबाट जनआन्दोलनको लागि भनेर काठमाडौँ पसेका माओवादी कलाकार र नेतासँगै पर्वत पहिलो पटक काठमाडौँ पाइला टेकेका हुन् । उनी त्यतिबेला ‘विशु साँस्कृतिक परिवार’ मै कार्यरत थिए ।

‘काठमाडौँ केन्द्रीत जनआन्दोलनको लागि पार्टी सेती-महाकालीबाट हामीलाई पठाएको थियो, हामी सेती महाकालीबाट ११ जनाको टोली थियो,’ उनले अगाडि भने,‘हामीहरु भूमिगत रुपमै कलंकी क्षेत्रमा रहेर आन्दोलनमा सहभागी भयौँ ।’

माओवादीको काठमाडौँ यात्रासँगै पर्वतले पनि काठमाडौँलाई कार्यक्षेत्र बनाए । काठमडौँमा रहेर ‘सेनच्याङ साँस्कृति परिवार’ मा रहेर जनसंगीतक यात्रालाई अगाडि बढाए । शान्ति प्रक्रियापछि माओवादीका सबै साँस्कृतिक कार्यक्रममा सभागी भए । पर्वतका साँस्कृतिक क्षेत्रबाट सुरु भएको राजनीतिक यात्रा यतिमै सिमित रहेन । २०६३ सालमै तत्कालिन नेकपा (माओवादी)को अखिल नेपाल जनसाँस्कृतिक महासंघको केन्द्रीय सदस्यको जिम्मेवारी पनि समाले ।

माओवादी आन्दोलनको रुप परिवर्तन भएसँगै पर्वतको सांगीतक क्षेत्र पनि फराकिलो बन्दै गयो । उनले नृत्य, लोकगीत, देउडा, लोकदोहरीलगायत विधामा प्रवेश गरे ।

पर्वतले अहिलेसम्म आफ्नै शब्द, संगीतमा ५० भन्दा बढी गीत रेकर्ड गरिसकेका छन् । उनी मोडलिङमा पनि त्यतिकै सक्रिय र चर्चित छन् । तीन ओटा चलचित्रमा अभियन गरिसकेका पर्वतले एउटा चलचित्रमा डान्स निर्देशन समेत गरेका छन् ।

यसैक्रममा पर्वतको हालै ‘अत्तरिया–धनगढी भेट भयो नि झ्याम्पै’ गीतको म्युजिक भिडियो बजारमा आएको छ । उनका तीन ओटा गीती एल्बम आउने तयारीमा छन् ।

उक्त म्युजिक भिडियोको निर्देशन, शब्द र संगीत पर्वत आफैले गरेका हुन् भने अभिनय मनोज जैगडी, पर्वत, सुनिता, रेखा मुख्य भूमिकामा छन् । क्रोसमा कञ्चनपुरको झलारी साँस्कृतिक डान्स गु्रपले साथ दिएको छ । रोशन टमाट्टा र पुष्पा बोहराले गीतमा स्वर दिएका छन् ।
पर्वत आफू सांगीतिक क्षत्रका सफल भएपनि माओवादी आन्दोलन दिशाविहीन भएकोले विगतको योगदान खेर जाने त होइन भन्दै चिन्ति पनि छन् ।

हेर्नुहोस् भिडियो

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]