Dabali News

Ad

मलेसियामा रहेका पूर्वजनमुक्ति सेनालाई विप्लवकाे पत्रः प्रचण्ड-बाबुरामले नपुरिने चोट दिएका छन्

२३ मंसिर

नेकपा (माअाेवादी)का महासचिव विप्लवले हाल मलेसियामा रहेका पूर्व जनमुक्ति सेनाका एक सदस्य विवशलाई पत्र लेखेका छन् । केही दिन पहिले विवशले विप्लवलाई सम्बाेधन गरेर पत्र लेखेका थिए । त्यही पत्रकाे जवाफ विप्लवले यस्ताे लेखेका छन् ।

प्रिय भाई विवस न्यानो अभिवादन

तपाईको पत्र फेसबुकमा पढने मौका मिल्यो । धेरै टाढाबाट लेखेको पत्र पढ्दा खुसी त लाग्ने नै भयो । पत्र पढ्दा खसी सँगसँगँ म निकै उद्देलित, तरंगित, भावुक र गंभिर भएँ । पत्रलाई तपाईँ र मेरो व्यक्तिगत मामिलाको रुपमा नबुझेर नेपाली परिश्रमी युवाहरुले देशका नेताहरुबाट गर्ने अपेक्षा र भावनासँग जोडेर बुझेको छु । पत्रका लागि भाइलाई धन्यवाद ।

विवस कमरेड
हामीले जनयुद्ध लड्यौं । नेपालको सामन्तवादी र दलाल पूँजीवदी राज्यसत्तालाई आमुल परिवर्तन गरेर देशमा जनताको राज्य सत्ता नयाँ जनवाद र वैज्ञानिक समाजवाद स्थापना गर्ने सोच्यौं । हामीले नेपाली जनतालाई र नेपाललाई मुक्त गरेर यो सदाब्दीमा नयाँ मानव सभ्यताको थापना गर्ने सोच्यौं । तपाइले भन्नु भए जस्तै अकथनिय विपत्तिहरु झेल्यौं । वास्तवमा हामीले विजय हासिल गर्दै पनि बढ्याैँ ।

यी सवै कुरा गलत थिएनन् र गलत हुने पनि छैनन् । यी हामी लड्नेको मात्र नभइ नपाली जनता र विश्वका श्रमिक जनता कै गौरबका विषय हुन् । हामीले गौरब गर्नु पर्दछ । यसमा कुनै पश्चाताप र गुनासो छैन । भयानक धोक, बेइमानी र पिडाका बाबजुद नेपाल आज जहाँ आइ पुगेको छ यसका पछाडि जनयुद्धको नै मुख्य हात छ । यसको तुलना नेपाली इतिहासका कुनै पनि घटनासँग हुन सक्दैन ।

यो निश्चित हो कि हाम्रो क्रान्ति, हाम्रो वलिदान र इमान्दारीतामाथि संसदवादी राजनैतिक दलहरुबाट असैह्य घात र वेइमानी गरिएको छ । उनीहरुले स्वाधिन देश र अधिकार सम्पन्न जनता बनाउने सहमतिलाई षड्यन्त्रपूर्ण ढंगले लत्याउने र उल्टाउने काम गरेका छन् । त्यसैगरी प्रचण्ड, बाबुरामले पनि कहिल्यई नपुरिने धोकाको चोट दिएका छन् तर यो राजनैतिक क्रान्ति हो भाई कहिले काही यस्तो हुन्छ । तर धोका, वेइमानी, गद्दारी, घातले इतिहासको अग्रगामी प्रवाहलाई कहिल्यई रोक्न संभव छैन । जनताको रुपान्त्रणकारी चाहनालाई पछि फर्काउन संभव छैन । जार, पोप, च्याँ काई सेक ले हजार कोसिस गरे पनि रोक्न सकेनन् भने नेपालका दलालहरुले रोक्न सक्लान भनेर कल्पना गर्न सकिदैन ।

विवस कमरेड

हामी धुलोबाट उठेका छौं । छलकपटको संघर्षबाट निस्कका छौं । गद्दारीलाई पचाउँदै जागेका छौं । हामीलाई थाहा छ हामीलाई हराउन खेल खेलियो, नेपाली जनता विशेषतः युवाहरुलाई गुलाम बनाउने चाल चलियो, विश्वकै श्रमिक जनताको प्रेणा बन्न थालेको क्रान्तिलाई निभाएर निराश बनाउने षड्यन्त्र गरियो तर भाई यो अब सम्भव छैन ।

जनताका वैरीहरुका सबै जालहरुपछि परेका छन् र जनता नयाँ अभियानमा लामवद्ध हुन थालिसकेका छन् । हाम्रा युववाहरु थनकाइएका औजारहरु फेरि उठाउन तयार भइसकेका छन् । हामी अर्को इतिहासको निमार्णमा जुटि सकेका छौं । हामीले अठोट गरेका छौं या नेपाली जनताको मुक्ति र सत्ता या वीरता पूर्ण क्रान्तिको निरन्तरता ।

कमरेड

तपाईँको पीडा सहजै बुझन सकिन्छ तर पीडामा हुर्केका नेपालीका लागि पीड ठूलो होइन सपना र अठोट ठूलो कुरा हो । हामी जहा भए पनि सपना देख्न छोडनु हुँदैन । अरुले के सोच्छन त्यो पनि ठूलो होइन, हामी के गछौं त्यो ठूलो हो । सत्य र न्यायको लागि अगाडि बढे पछि आशंका र भ्रमहरु विश्वासमा वदलिने छन् । मलाई विश्वास छ तपाइको चाहनालाई हामी पुरा गरिछाड्ने छौं । धन्यवाद  ।  -विप्लव

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]